#थाकेको मनबीचका एकाङ्की—भावनाका बिटहरू
कलम: बिजिता अर्याल
चिकित्साशास्त्र चौथो वर्षकी विद्यार्थी तथा कवियत्री
म यही छु,
म उही छु।
भाग्यौ किन तिमी?
केका लागि तिमी मेरो जीवनको पात्र बनेका थियौ?
किन थियो मेरो जीवनमा तिम्रो आगमनको आवश्यकता?
के मेरा लागि अरू पात्रहरू थिएनन् र?
के मेरा जीवनका भोगाइहरू व्यर्थ थिए र?
किन तिम्रै आहटको पर्खाइमा साँझ बिते?
किन तिम्रै यादका कल्पनामा रात कटे?
के तिमीलाई मेरो यत्ति नै महत्व थियो होला र?
के म तिम्रो लागि यत्ति नै आवश्यक भएँ होला र?
अब त आत्मामा
केवल घाउ र चोटका बगान लागेका छन्,
किनकि त्यो मायाको बगैंचाका फूलहरू
पहिल्यै काटिइसके।
आफ्नो अस्तित्व दिने माटोबाट,
त्यो आत्मीयताबाट,
अब त केवल फूलदानी सजाउनका लागि मात्र बाँकी छन्—
केही दिनको शोभा,
केही क्षणको स्नेह मात्र।
किनकि भोलि,
जब जीवनका हार र बारहरूले झोक्याउँछन्,
तब फेरि फ्याँकिनेछन्,
तब फेरि मेटिनेछन्।
हुन त तिमी र मबीच
अब केवल ती फोटोका तस्वीरहरू मात्र बाँकी छन्,
जुन हेर्दै आँसुले जलार्पण गर्छन्,
मायाको वाचाको तिलाञ्जली
तिनै नजरहरूसँगै
एकै अर्पणमा अर्पित गर्छन्।
अब त सायद यत्ति नै हो साथ—
आँसुका धाराको तर्पण,
र
टुक्रिएको आत्माको
शान्तिको कामना मात्र।
चिन्ता नगर,
तिम्रो लागि मेरो मनमा कुनै द्वेष छैन।
बाँकी छ त
केवल मेरै दुखाइको रुदन।
नडराऊ,
मलाई भन्नु–सुनाउनु अब केही बाँकी छैन।
अब त केवल
आफ्नै चिच्याहट मात्रै।
जीवनका सिँढी चढ्ने,
आफू अघि बढ्ने,
र
आफ्नै छायाँ हेरेर
आफैँलाई धाप मार्ने अठोट मात्रै।
तिमी तिम्रै हुनु,
तिमी जस्तै हुनु,
तिम्रा सपना जस्तै हुनु,
जीवनका पाइला–पाइलामा सफलता चुम्नु।
म भने
मेरै अट्टहासको बलमा
मेरो रहरका बाटा कोर्नेछु,
मेरो आत्माको शान्ति खोज्नेछु,
मेरो गन्तव्यतिर लाग्नेछु।
पुगे पुगिएला,
नपुगे नगएकोमा दुःख नहोला।
किनकि जीवनको नाम नै हार–जित रहेछ।
त्यसैले गन्तव्य कोर्दै
अब म
जीवन जिउनेछु।