प्रतीक्षा
कलम: पार्वती तिवारी
चिकित्साशास्त्र चौथो वर्षकी विद्यार्थी तथा कवियत्री
अति प्यास लागेको बेला,
एक थोपा जलको महत्व
ज्ञात छ तिमीलाई?
कालो त्यो अन्धकारमय, औँसीको रातमा
पूर्ण चन्द्रमाको तृष्णा
ज्ञात छ होला नि तिमीलाई?
ज्ञात छ होला नि तिमीलाई
खडेरीमा, निर्जल त्यो सुक्खा खोलालाई
कलकल बग्दै गरेको
निश्चल त्यो जलको महत्व।
थाहा छ होला नि तिमीलाई
दोपहरको त्यो तातो–तातो घाममा
भारी बोकी हिँडेको बाटुवाका लागि
शीतल वायुको सुसेली हाँदै
थकाइ मन्द बनाइदिने, बरपीपलको महत्व?
यति त ज्ञात छ तिमीलाई—
मुटुको लागि धड्कन
अनि रक्तनलीका लागि रगतको महत्व।
⸻
बुझ्नु,
मेरो लागि तिम्रो त्यस्तै महत्व छ।
प्यासिले एक थोपा जलको प्रतीक्षा गरेझैँ,
औँसीको रातले चन्द्रमाको,
खडेरी लागेको खोलाले निश्चल सलसल बग्ने जलको,
बाटुवाले भारी बिसाउने चौतारीको
प्रतीक्षा गरेझैँ।
बुझ्नु,
मलाई पनि तिम्रो त्यस्तै प्रतीक्षा छ।
⸻
लय बिनाको गीत सुनेका छौ तिमी?
मेरा दिन आजभोलि त्यस्तै छन्, बेसुर।
साँचै…
चिनीबिनाको चिया जस्तै भएँ म,
बेस्वादिलो।
सप्तरङ्गी इन्द्रेणीको
खोई, कुनै रङ हराएजस्तो;
टिलपिल–टिलपिल गर्ने ती ताराबिनाको
कालो आकाश जस्तो;
शिशिर ऋतुमा सबै पलुवा खसेर
रुखो भएका ती निराश बोट जस्तो।
मेरा दिनहरू आजभोलि त्यस्तै छन्—
कालो, फिका, कता–कता खुशी हराएजस्तो।
⸻
लय बिनाको मेरो जीवनमा
तिमी लय बनी आउँछौ भनी
प्रतीक्षामा छु।
चिनीबिनाको चियामा
तिमी चिनी बनी आई घुलिदिन्छौ भनी
प्रतीक्षामा छु।
बेरङ्गी मेरो जीवनमा
तिमी प्रेमको रङ घोली
मलाई रङ्गीन बनाउँछौ भनी
प्रतीक्षामा छु।
मेरो शिशिरमय जीवनमा
बसन्त ऋतु बनी आई
मौलाएका प्रेमका थुङ्गालाई
फेरि मौलाउने बनाउँछौ भनी
प्रतीक्षामा छु।
⸻
अब छिट्टै आऊ।
मेरो प्रतीक्षाको अन्त्य गरिदेऊ।
मेरा सपनालाई
विपनामा परिणत गरिदेऊ।
तबसम्म म तिम्रै
प्रतीक्षामा छु—
तिम्रै प्रतीक्षामा
अनन्तसम्म……।